


दमौली, २१ जेठ । व्यास नगरपालिका–३ स्थित फुटबल मैदान निर्माणका लागि आर्थिक वर्ष २०८३/०८४ को संघीय बजेटमा रु. २ करोड विनियोजन भएपछि स्थानीय खेलप्रेमी युवाहरूमा उत्साह छाएको छ।
उक्त बजेट विनियोजनका लागि दमौलीका युवा सुजन रिमालले सक्रिय पहल गरेका थिए। उनले गत चैत महिनामा तत्कालीन शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोख्रेललाई भेट गरी खेलमैदान निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न मागसहित ज्ञापनपत्र बुझाएका थिए।

स्थानीय युवाहरूको लामो समयदेखिको माग रहेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित भएपछि रिमालले खुसी व्यक्त गरेका छन्। उनले सरकारले युवाको भावना र खेलकुद क्षेत्रको आवश्यकतालाई सम्बोधन गरेको भन्दै धन्यवाद व्यक्त गरे।

उनका अनुसार खेलमैदान निर्माण सम्पन्न भएपछि दमौली क्षेत्रका युवाहरूले स्तरीय खेल अभ्यास गर्ने अवसर पाउनेछन् भने स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिता सञ्चालन गर्न समेत सहज हुनेछ। यसले खेलकुदमार्फत युवाको व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय खेलप्रेमीहरूले पनि बजेट विनियोजनलाई स्वागत गर्दै निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूले खेल पूर्वाधारको विकासले दमौलीलाई खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।