


दमौली, २१ जेठ । जन्मदिनका अवसरमा सामान्यतः केक काट्ने, विभिन्न उपहार दिने तथा शुभकामना आदानप्रदान गर्ने चलन रहँदै आएको छ। तर तनहुँकी एक आमाले छोरीको जन्मदिनलाई विशेष र दीर्घकालीन महत्व दिने उद्देश्यले ५ लाखकाे बीमा पोलिसी उपहारस्वरूप हस्तान्तरण गर्दै भविष्य सुरक्षाको सन्देश दिएकी छन्।
भानु नगरपालिका–७ स्थायी घर भई हाल व्यास नगरपालिका–४ मा बसोबास गर्दै आएकी मनिषा थापा क्षेत्री गोदारले आफ्नी छोरी स्मारिका गोदारको जन्मदिनको अवसर पारेर रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा रहेको बीमा पोलिसी हस्तान्तरण गरेकी हुन्।
छोरीको उज्ज्वल भविष्य, शिक्षा, स्वास्थ्य तथा आर्थिक सुरक्षालाई ध्यानमा राख्दै बीमा पोलिसी उपहार दिएको मनिषाले बताइन्। उनका अनुसार जन्मदिनमा क्षणिक रूपमा प्रयोग हुने उपहारभन्दा जीवनको महत्वपूर्ण आवश्यकता पूरा गर्न सक्ने र भविष्यमा उपयोगी हुने उपहार दिनुपर्छ भन्ने सोचका साथ बीमा पोलिसी हस्तान्तरण गरिएको हो।
मनिषाले बीमा केवल बचतको माध्यम मात्र नभई आर्थिक सुरक्षाको भरपर्दो आधार भएको उल्लेख गर्दै अभिभावकहरूले आफ्ना सन्तानको भविष्यलाई ध्यानमा राखेर समयमै बीमा गर्नुपर्ने धारणा व्यक्त गरिन्।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिहरूले समेत यस्तो कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्। उनीहरूका अनुसार भौतिक उपहारभन्दा आर्थिक सुरक्षा र भविष्यको सुनिश्चिततासँग जोडिएका उपहारले दीर्घकालीन लाभ दिने भएकाले बीमा संस्कृतिको विकासमा समेत टेवा पुग्नेछ।