


दमौली, २२ जेठ ।पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी गाऊँपालिका-२, ढावटारमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।
मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ना.३ च. ९६२२ नम्बरको तरकारी बोकेको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको बा.२ ख. २०७० नम्बरको कन्टेनर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरो चालक तनहुँको व्यास नगरपालिका–१२ निवासी ३१ वर्षीय सुनिल विक गम्भीर घाइते भएका छन्। त्यस्तै बोलेरोमा सवार भानु नगरपालिका–१२ निवासी १९ वर्षीय रितीक अधिकारीको टाउको तथा दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
घाइते दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।