


दमौली, २२ जेठ । तनहुँ जिल्लामा पछिल्लो २४ घण्टाको अवधिमा ६ वटा सवारी दुर्घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीका अनुसार जेठ २१ गते बिहान ६ बजेदेखि २२ गते बिहान ६ बजेसम्म जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा १९ जना घाइते भएका छन्।
उनका अनुसार दुर्घटनामा २ जना गम्भीर, ७ जना मध्यम र १० जना सामान्य घाइते भएका छन्। घाइतेमध्ये ७ जना उपचारपछि घर फर्किएका छन् भने १२ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाका कारण ९ वटा सवारी साधनमा क्षति पुगेको छ। जसमा १ ट्रक सामान्य रूपमा क्षतिग्रस्त भएको छ भने १ एम्बुलेन्स र १ कन्टेनरमा आंशिक क्षति पुगेको छ। त्यस्तै ३ वटा स्कुटरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ। १ हाइलक्स कार सामान्य रूपमा क्षतिग्रस्त भएको छ भने १ बोलेरो जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, तीव्र गति नियन्त्रणमा राख्न तथा सुरक्षित यात्राका लागि विशेष सावधानी अपनाउन आग्रह गरेको छ।