तनहुँ जिल्ला अदालत बार इकाईले गर्यो फौजदारी कानुन अन्तर्गतको अन्तरक्रिया कार्यक्रम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ जिल्ला अदालत बार इकाईले गर्यो फौजदारी कानुन अन्तर्गतको अन्तरक्रिया कार्यक्रम

    अन्जना तिमिल्सिना

    २२ जेष्ठ २०८३, शनिबार

    दमौली, २३ जेठ। प्रविधिको विकाससँगै अपराधका स्वरूप पनि बदलिँदै गएका छन्। सीमित व्यक्तिको संलग्नतामा हुने परम्परागत अपराधभन्दा फरक, योजनाबद्ध समूहद्वारा गरिने संगठित अपराध र वित्तीय प्रणालीलाई लक्षित गरी गरिने बैंकिङ कसुरले राज्य, समाज र अर्थतन्त्रलाई समेत गम्भीर असर पार्ने गरेको छ। जसले गर्दा संगठित अपराध र बैंकिङ कसुर फौजदारी न्याय प्रणालीका लागि चुनौतीका रूपमा देखापर्न थालेको एक कार्यक्रममा बताइएको छ।

    तनहुँ जिल्ला अदालत बार इकाईद्वारा आयोजित “फौजदारी कानुन अन्तर्गत संगठित अपराध तथा बैंकिङ कसुर” विषयक अन्तरक्रिया कार्यक्रममा न्यायाधीश राजेश कुमार कटुवाल र अधिवक्ता डा. अवतार न्यौपानेले संगठित अपराध तथा बैंकङ कसुर विषयका विभिन्न कानुनी तथा व्यावहारिक पक्षबारे जानकारी गराएका थिए ।

    कार्यक्रममा न्यायाधीश कटुवालले संगठित अपराध कुनै एक व्यक्तिको कार्य मात्र नभई योजनाबद्ध रूपमा समूहद्वारा सञ्चालन हुने अपराध भएको उल्लेख गर्दै यसको अनुसन्धान र अभियोजन अन्य अपराधको तुलनामा बढी जटिल हुने बताए।

    मानव बेचबिखन, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण तथा साइबर अपराधजस्ता गतिविधिहरू संगठित अपराधका आधुनिक स्वरूपका रूपमा विकसित हुँदै गएको उनको भनाइ थियो। उनले यस्ता अपराध नियन्त्रणका लागि अनुसन्धान निकाय, अभियोजनकर्ता र न्यायपालिकाबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए।

    त्यसैगरी अधिवक्ता डा. न्यौपानेले बैंकिङ कसुरको बदलिँदो प्रकृतिबारे चर्चा गर्दै डिजिटल बैंकिङको विस्तारसँगै वित्तीय अपराधका नयाँ चुनौतीहरू थपिएको बताए। अनलाइन ठगी, नक्कली कागजातका आधारमा ऋण लिने प्रवृत्ति, चेक अनादर, खाताको दुरुपयोग तथा साइबर माध्यमबाट हुने आर्थिक अपराधले बैंकिङ क्षेत्रलाई चुनौती दिइरहेको उनको भनाइ थियो। उनले बैंकिङ प्रणालीप्रति जनविश्वास कायम राख्न कानुनी कार्यान्वयन, प्रभावकारी नियमन र वित्तीय सचेतनालाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

    तनहुँ जिल्ला अदालत बार इकाईकी अध्यक्ष सरिता थापा भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले संगठित अपराध र बैंकिङ कसुर दुवैका पछाडि आर्थिक लाभको उद्देश्य प्रमुख रहने भए पनि तिनको प्रभाव व्यक्तिगत क्षतिभन्दा बाहिर पुगेर समग्र आर्थिक तथा सामाजिक संरचनामा पर्ने बताए। न्यौपानेले यस्ता अपराधविरुद्ध कानुनी कठोरता मात्र नभई प्रविधिमैत्री अनुसन्धान, अन्तरनिकाय समन्वय र जनचेतना अभिवृद्धि पनि उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले संगठित अपराध र बैंकिङ कसुरले समाज र राज्य दुवैलाई चुनौती दिइरहेको बताएका छन्। उनले अन्तरक्रियाले कानुन व्यवसायी र प्रशासनबीच समझदारी बढाउने र अपराध नियन्त्रणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अन्तरक्रिया कार्यक्रमले न्यायिक, प्रशासनिक र पेशागत पक्षबीच सहकार्य बढाउने र कानुन व्यवसायीहरूमा सचेतना अभिवृद्धि गर्ने बताएका थिए । कार्यक्रममा न्यायाधीशहरू शम्भुप्रसाद बराल, विष्णुप्रसाद उपाध्याय,वरिष्ठ अधिवक्ता परशुराम गिरी लगायतले संगठित अपराध र बैंकिङ कसुरले समाज र राज्य दुवैलाई चुनौती दिइरहेको हुँदा कानुन व्यवसायीहरूले पेशागत मर्यादाका साथ लड्नुपर्ने अवस्था आएको बताएका थिए।

    शुक्रबार र शनिबार भएको अन्तरक्रियामा तनहुँ जिल्ला अदालतका अधिकृत तहका कर्मचारी सरकारी वकिलको कार्यालयका मुद्दाफाटका कर्मचारी जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका कर्मचारी पेशा व्यवसायमा लागेका सम्पूर्ण कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो।

    सहभागीहरुले बदलिँदो अपराधको स्वरूपलाई मध्यनजर गर्दै कानुनी व्यवस्था र कार्यान्वयन पक्षलाई समयानुकूल बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले संगठित अपराध र बैंकिङ कसुरसम्बन्धी कानुनी बहसलाई थप सशक्त बनाउनुका साथै यस्ता अपराध नियन्त्रणका लागि साझा प्रयासको आवश्यकता औँल्याएको सहभागीहरूको भनाइ थियो