तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सदस्यलाई चरक अस्पतालमा विशेष छुट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सदस्यलाई चरक अस्पतालमा विशेष छुट

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८३, सोमबार

    दमौली, २५ जेठ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सदस्य, कर्मचारी र परिवारका सदस्यलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले चरक मेमोरियल अस्पताल, पोखरा र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईबीच सम्झौता भएको छ।

    सोमबार सम्पन्न सम्झौताअनुसार संघका सदस्य, कर्मचारी र परिवारका सदस्यले चरक मेमोरियल अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्। सम्झौताअनुसार अस्पताल सेवामा (अपरेशन थिएटर शुल्कसहित) १५ प्रतिशत, फार्मेसी सेवामा ५ प्रतिशत तथा अल्ट्रासोनोग्राफी (यूएसजी) सेवामा ३० प्रतिशत छुट उपलब्ध हुनेछ।

    दुवै पक्षबीच भएको सम्झौता हस्ताक्षर भएको मितिबाट २४ महिनासम्म लागू रहनेछ। आवश्यक परे आपसी सहमतिमा सम्झौताका प्रावधान संशोधन गर्न सकिने तथा कुनै पनि पक्षले ३० दिन अगावै लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था रहेको छ।

    सम्झौतामा चरक मेमोरियल अस्पतालका मेडिकल डाइरेक्टर डा. ओमकुमार श्रेष्ठ र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति शेषराज श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    सुविधा प्राप्त गर्न संघका सदस्य, सदस्य संस्थाका कर्मचारी तथा उनीहरूका नजिकका परिवारका सदस्यहरूले संघबाट जारी गरिएको वैध सदस्यता परिचयपत्र वा सिफारिस पत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको इकाई सचिव सुनिता चन्दले जानकारी दिइन् ।