किसानलाई ९० प्रतिशत अनुदानमा कृषि सामग्री सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    किसानलाई ९० प्रतिशत अनुदानमा कृषि सामग्री सहयोग

    खबरपुञ्ज संवाददाता

    १ असार २०८३, मंगलवार

    दमौली, २ असार । जिल्ला कृषि विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–६ घलडाँडाका कृषकलाई ९० प्रतिशत अनुदानमा विभिन्न कृषि सामग्री वितरण गरेको छ । कृषकको उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो ।

    चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि उद्यम विकास कार्यक्रम, रैथाने बाली प्रवद्र्धन कार्यक्रम, जलवायुमैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम तथा निर्यातजन्य बाली प्रवद्र्धन कार्यक्रममार्फत घलडाँडा कृषक समूहलाई आवश्यक कृषि सामग्री उपलब्ध गराइएको कार्यालयका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।

    उनका अनुसार कृषक समूहलाई सिँचाइ व्यवस्थापनमा सहजता ल्याउन पाँच हजार लिटर क्षमताको एक थान ठूलो हिल ट्याङ्की वितरण गरिएको छ । त्यसैगरी समूहमा आबद्ध २२ जना कृषकलाई पाँच सय लिटर क्षमताका हिल ट्याङ्क, २० एमएम सिँचाइ पाइप, विभिन्न रैथाने बालीका बिउबिजन, एग्रिकल्चर स्प्रेयर लगायतका कृषि सामग्री प्रदान गरिएको छ ।

    कृषकहरूलाई वितरण गरिएका सामग्रीले सिँचाइ व्यवस्थापनमा सुधार ल्याउनुका साथै उत्पादन लागत घटाउन र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी वर्षायामबाहेकका समयमा पानीको अभाव झेलिरहेका कृषकका लागि हिल ट्याङ्की र सिँचाइ पाइप प्रभावकारी हुने विश्वास गरिएको परियारको भनाइ छ ।

    गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले कृषि क्षेत्रलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

    जिल्ला कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकीकरण र उत्पादन वृद्धि कार्यालयको प्रमुख लक्ष्य रहेको बताए ।

    “कृषकलाई अनुदानमा सामग्री उपलब्ध गराउनु मात्र हाम्रो उद्धेश्य होइन,” उनले भने, “ती सामग्रीको प्रभावकारी प्रयोगमार्फत उत्पादन वृद्धि, लागत न्यूनीकरण र कृषकको जीवनस्तर सुधार हुनु आवश्यक छ । त्यसका लागि कार्यालयले प्राविधिक सहयोग र आवश्यक परामर्शलाई पनि निरन्तरता दिनेछ ।”