


काठमाडौं, २३ साउन । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ।
अर्जेन्टिनाको सञ्चारमाध्यम ‘इन्फोबाए’का अनुसार लामो समयदेखि बिरामी रहेका जर्जको रोसारियोस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
जर्ज मेसी लियोनलका बुबा मात्र नभई उनको लामो समयका एजेन्टसमेत थिए। मेसीको बाल्यकालदेखि नै उनले छोराको फुटबल यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
बाल्यकालमा मेसीलाई वृद्धि हर्मोनको कमीसम्बन्धी उपचार आवश्यक पर्दा जर्जले उपचारको व्यवस्था मिलाउन महत्वपूर्ण पहल गरेका थिए। मेसी १३ वर्षको उमेरमा स्पेन गएर बार्सिलोनामा नयाँ फुटबल यात्रा सुरु गर्दा उनी छोरासँगै स्पेन पुगेका थिए।
त्यसपछि दशकौँसम्म जर्जले मेसीको करिअर व्यवस्थापन गर्दै सम्झौता, क्लब स्थानान्तरणलगायत महत्वपूर्ण विषयमा उनको साथ दिएका थिए।