जनताले आशा गरेको सरकार हो, देश बनाउन सबै मिलेर अघि बढौँ : अर्थमन्त्री वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनताले आशा गरेको सरकार हो, देश बनाउन सबै मिलेर अघि बढौँ : अर्थमन्त्री वाग्ले

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०८३, बिहीबार

    दमौली, २८ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले देशलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट योजनासहित सरकार अघि बढिरहेको दाबी गरे ।

    जिल्ला समन्वय समिति तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकार सुशासन र सुधारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।

    उनले सरकारको पहिलो वर्षलाई सुधारको वर्ष, दोस्रो वर्षलाई सुशासनको वर्ष र तेस्रो तथा चौथो वर्षमा त्यसको नतिजा देखिने गरी काम गर्ने योजना रहेको उल्लेख गरे । “जनताले आशा गरेको सरकार हो । देश बनाउन सबै मिलेर जाऔँ। गलत सोच त्यागौँ, देशलाई उचाइमा पु¥याउँछौँ,” उनले भने ।

    मुलुकलाई समृद्ध बनाउने स्पष्ट योजना लिएर राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आएको उल्लेख गर्दै वाग्लेले जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बतैए । उनले भने, “सुशासनको जगमा टेकेर सबै मन्त्रालयमा दैनिक रुपमा सुधार भइरहेका छन् । कतिपय ठाउँमा गलत भए तत्कालै सुधार गरेर अगाडी बढेका छौ ।”

    अर्थमन्त्री डा. वाग्लेले सुशासनबिना मुलुकको आर्थिक तथा सामाजिक विकास सम्भव नहुने भन्दै सरकारी संयन्त्रलाई प्रभावकारी र जवाफदेही बनाउन आवश्यक रहेको बताए । सरकार सुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नगर्ने उनको भनाइ थियो । अर्थमन्त्री डा. वाग्लेले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउँदै उर्जामा त्यसको सफल उदाहरण देखिसकिएको उल्लेख गरे ।

    अर्थमन्त्री डा. वाग्लेले धान्न सक्ने गरी स्वास्थ्य बीमाको मोडलमा जाने गरी सरकारले काम अगाडी बढाएको उल्लेख गरे । उनले निम्न वर्गलाई लक्षित गरी विगत सरकारले ल्याएका कुनै पनि कार्यक्रम यस वर्ष यथावत रहेको जानकारी दिए ।

    कार्यक्रममा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले विकास निर्माणका कामलाई गति दिन पूर्वाधार अदालतको प्रक्रिया अगाडी बढेको बताए । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, जितप्रकाश आले, अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले विकास निर्माणका सवालमा सबैको हातेमालो आवश्यक रहेको चर्चा गरे ।

    शुक्रबारसम्म सञ्चालन हुने समिक्षा कार्यक्रममा जिल्लास्थित स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयका आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न भएका काम र समस्याबारे छलफल गरिने जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए।