


तनहुँ, ५ भदौ । मुग्लिङ–पोखरा सडकखण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा सञ्चालन गर्दै आएको चालक सचेतना कार्यक्रम शुक्रबार पनि जारी राखेको छ।
शुक्रबार बिहान ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा १३९ जना सवारी चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ।
कार्यक्रमअन्तर्गत २० वटा दुईपाङ्ग्रे, ४४ वटा साना चारपाङ्ग्रे र ७५ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको थियो।
यसैबीच, पछिल्लो २४ घण्टामा तनहुँ जिल्लाअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्ड तथा पृथ्वीराजमार्गमा कुनै पनि सवारी दुर्घटना नभएको प्रहरीले जनाएको छ।
सडकको अवस्था र मौसमअनुसार सावधानी अपनाउन तथा लेन अनुशासन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ।