


काठमाडौं ५ असाेज । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुबीच विवाद भएको खुलेको छ । सामाजिक सन्जालमा सार्वजनिक वादविवादको एक भिडियो क्लिपमा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भनेको सुनिन्छ ।
लगत्तै रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर बस चालक काभ्रे घर २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीहरुले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका थिए । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
वादविवादको भिडियो हेर्दा चालकलाई ट्राफिक नियम उल्लंघनको आरोपमा ट्राफिक प्रहरीले जरिबानास्वरुप चिट काट्न खोजेको जस्तो देखिन्छ । तर चालकले भने आफूले गल्ती नगरेको भन्दै जरिवाना नतिर्ने अडान लिएको सुनिन्छ । ‘मलाई विना कसुर फाइन हान्न खोज्छ उहाँहरुले..,’ उनले भनेका छन् ।
ड्राइभिङ सिटमै रहेका चालक र सडकमा रहेका ट्राफिक प्रहरीहरुबीच विवाद भइरहेको भिडियोमा सशस्त्र प्रहरीको पोशाक लगाएका र सादा पोशाकका व्यक्तिहरु पनि देखिन्छन् । उनीहरुले बस सडकको बीच भागमा रोकिँदा यातायात आवागमन प्रभावित भएको भन्दै साइड लगाउन भनिरहेको पनि सुनिन्छ ।