


तनहुँ, ५ असोज । तनहुँको व्यास नगरपालिका–१२ तल्लो छिर्कनेमा हाइस दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो करिब ३ः४५ बजे काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१–०३४ च ६१९४ नम्बरको ईभी हाइस चालकले नियन्त्रण गुमाउँदा स्थानीय तिल गिरीको दुईतले पक्की घरको उत्तरी भागमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा हाइसमा चालकसहित तीन जना सवार रहेकामा पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ५५ वर्षीया शर्मिला त्रिपाठी गम्भीर घाइते भएकी छन्। उनलाई तत्काल उद्धार गरी प्रदेश अस्पताल दमौली पठाइएकोमा थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थल पुगेको थियो। हाइस र चालक पोखरा महानगरपालिका–३३ बस्ने ४० वर्षीय सुरेन्द्र थापा प्रहरी नियन्त्रणमा छन्। दुर्घटनापछि अवरुद्ध सडक हाल सुचारु भइसकेको प्रहरीले जनाएको छ।