


तनहुँ १५ कात्तिक । । गृहमन्त्री सुधन गुरुङले तनहुँको आबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा स्थानीयसँग समसामयिक विषयमा छलफल गरेका छन् । आइतबार भएको छलफलमा स्थानीयका समस्या, जिल्लाको शान्तिसुरक्षा, अनलाइन ठगी तथा विपद्मा परेका नागरिकका विषयमा कुराकानी भएको रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठले जानकारी दिए ।
छलफलका क्रममा स्थानीयले भोगिरहेका विभिन्न समस्या र समसामयिक विषयबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराइएको थियो । विशेषगरी भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूका परिवारले सरकारका तर्फबाट भइरहेका काम तथा पीडित परिवारका लागि चालिएका कदमबारे जिज्ञासा राखेका थिए । विपद्मा परेका परिवारको अवस्था र उनीहरूका समस्याबारे स्थानीयले चासो व्यक्त गरेका थिए ।
त्यस्तै, तनहुँ जिल्लाको शान्तिसुरक्षाको अवस्था र पछिल्लो समय बढ्दो अनलाइन ठगीका विषयमा समेत गृहमन्त्रीलाई जानकारी गराइएको थियो । अनलाइन माध्यमबाट हुने ठगीका घटनाले सर्वसाधारणलाई पार्न सक्ने असर तथा यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक कदमबारे छलफल भएको थियाे ।छलफलका क्रममा आबुखैरेनीमा गत चैतमा करेन्ट लागेर हात काट्नुपरेका एक व्यक्तिले हालसम्म राहत नपाएको गुनासो उठेको थियो ।
दुर्घटनाका कारण शारीरिक क्षति व्यहोर्नुपरेको अवस्थामा पनि राहत नपाएको विषय गृहमन्त्रीसमक्ष प्रस्तुत भएपछि उनले तत्काल चासाे देखाएका थिए ।गृहमन्त्री गुरुङले उक्त विषयमा सम्बन्धित निकायबाट आवश्यक पहल गर्न प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर राहत उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।