दमौलीमा खाना पकाउने ग्यासको अभाव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा खाना पकाउने ग्यासको अभाव

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८३, मंगलवार

    दमाैली १९ साउन । तनहुँको दमौलीमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ता बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन्। मङ्गलबार बिहान व्यास नगरपालिका–१ भादगाउँस्थित ग्यास डिलर अगाडि सिलिन्डर बोकेर उपभोक्ताको लामो लाइन देखिएको थियो।

    केही समययता ग्यासको नियमित आपूर्ति हुन नसक्दा उपभोक्ताले आवश्यक समयमा ग्यास पाउन कठिनाइ भोग्दै आएका छन्। ग्यास आउने सूचना पाएलगत्तै बिहानैदेखि लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको उपभोक्ताहरूले बताएका छन्।

    भादगाउँस्थित डिलरमा बिहानैदेखि महिला, ज्येष्ठ नागरिकदेखि दैनिक ज्यालादारी गर्ने श्रमिकसम्म ग्यासको प्रतीक्षामा लाइनमा बसेका थिए। कतिपयले घण्टौँ पालो कुर्दासमेत ग्यास पाइने–नपाइने अन्योल रहेको गुनासो गरे।

    स्थानीय उपभोक्ताका अनुसार केही सातादेखि मागअनुसार ग्यास उपलब्ध हुन सकेको छैन। वितरण हुने परिमाण सीमित हुँदा धेरै उपभोक्ता रित्तो सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ।

    ग्यास अभावले विशेषगरी दैनिक खाना पकाउने काम प्रभावित भएको छ। होटल, रेस्टुरेन्ट तथा साना व्यवसायी पनि समस्यामा परेका छन्। वैकल्पिक इन्धन प्रयोग गर्न सक्ने अवस्था सबैसँग नभएकाले एलपी ग्यासकै भर पर्नुपर्ने बाध्यता रहेको उपभोक्ताहरू बताउँछन्।

    उपभोक्ताले बजारमा ग्यासको अभाव किन भइरहेको हो भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्। साथै नियमित आपूर्ति सुनिश्चित गरी लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्न आग्रह गरेका छन्।

    दमौलीमा केही समयदेखि देखिएको ग्यास अभावले दैनिक जनजीवन प्रभावित बनाएको छ। नियमित आपूर्ति र सहज वितरण व्यवस्थाको अभावमा सर्वसाधारणले आधारभूत उपभोग्य वस्तु प्राप्त गर्नसमेत सास्ती खेप्नुपरेको भन्दै उपभोक्ताले तत्काल समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।