


दमौली, २३ साउन । ३२ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा शनिबार जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सरकारी कार्यालयको कामकाजमा मातृभाषाको आवश्यकता र महत्व विषयक मावि तह जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामामा पञ्चमुनीदेव मावि दुलेगौडाकी पुनमसिंह ठकुरी प्रथम, आदिकवि भानुभक्त माविकी समिक्षा थापा द्वितीय, सत्यवती माविकी जेसिका पाण्डे तृतीय भएका छन् । यस्तै चण्डिदेवी राष्ट्रिय माविकी सुरक्षा तिमिल्सिना, मिन माविका गङ्गा बानियाँ र आदिकवि माविकी ससिता केसी सान्त्वना भएका छन् ।
प्रतियोगितामा १७ विद्यालयका ३१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
परिषद्का अध्यक्ष सनम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, परिषद्का सल्लाहकार ताराप्रसाद श्रेष्ठ, ताराराम श्रेष्ठ, यामबहादुर आले, नन्दबहादुर थापा, पूर्व अध्यक्ष बसुन्धरा घर्ती लगायत सहभागी थिए ।
वरिष्ठ उपाध्यक्ष सिद्धान्त गर्जा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन गुरुङले गरेका थिए ।