


दमौली, २८ साउन । प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले जनताको सेवामा इमानदार राजनीति र पारदर्शी नेतृत्वको संकल्प गर्दै आफ्ना १२ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन्।
न्यौपानेले सरकारी ठेक्का नलिने, निर्वाचनमा कसैसँग आर्थिक सहयोग नलिएको तथा राज्यकोषबाट प्राप्त तलब–भत्ता तनहुँ–२ को जनहितमा प्रयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
उनका अन्य प्रतिबद्धतामा प्रत्येक तीन महिनामा तनहुँ–२ मा जनसंवाद कार्यक्रम सञ्चालन गर्ने, स्वकीय सचिवको सुविधा नलिने, तनहुँ–२ का सामुदायिक विद्यालयका कक्षा १० मा डिजिटल स्मार्ट बोर्ड जडान गर्ने र आगामी दिनमा कुनै पनि निर्वाचन नलड्ने रहेका छन्। उनका अनुसार आषाढसम्म तनहुँ–२ का १९ वटा विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान भइसकेका छन्।
त्यस्तै, आफ्नो जनसेवा र राजनीतिक गतिविधिलाई निरन्तर तनहुँ केन्द्रित गर्ने, रातो वा कूटनीतिक राहदानी नलिने, अबदेखि विद्युतीय (ईभी) गाडी मात्र प्रयोग गर्ने र आफैं गाडी चलाउने प्रतिबद्धता पनि उनले गरेका छन्।
न्यौपानेले प्रत्येक तीन महिनामा कार्यालय प्रमुखहरूसँग समीक्षा बैठक गरी पूँजीगत खर्चको प्रगति सार्वजनिक गर्ने तथा आफूले मादक पदार्थ सेवन र भ्रष्टाचार नगरेको र आगामी दिनमा पनि नगर्ने स्पष्ट पारेका छन्।
“इमानदार नेतृत्व, पारदर्शी काम र जनताको साथ” भन्ने मूल भावसहित सार्वजनिक गरिएको प्रतिबद्धतामार्फत न्यौपानेले आफूलाई जनताप्रति उत्तरदायी र पारदर्शी नेतृत्वका रूपमा अघि बढाउने संकल्प व्यक्त गरेका छन्।