नारेश्वर ताल सञ्चालन तथा व्यवस्थापन समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नारेश्वर ताल सञ्चालन तथा व्यवस्थापन समिति गठन

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०८३, मंगलवार

    तनहुँ, ९ भदौ । व्यास नगरपालिका–१० दुम्सीचौरस्थित नारेश्वर ताल सञ्चालन तथा व्यवस्थापनका लागि समिति गठन गरिएको छ । वडाध्यक्ष खेमराज पोख्रेलको अध्यक्षतामा स्थानीय सरोकारवाला रहने गरी सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको हो ।

    नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि वडाध्यक्ष पोख्रेलको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो । नारेश्वर तालमा हाल परीक्षणका लागि पानी भर्ने कार्य गरिएकामा आन्तरिक पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । आन्तरिक सुरक्षा, सरसफाई तथा तत्काल गर्नुपर्ने अन्य कार्यका लागि समिति गठन गरिएको नगरपालिकाका प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

    ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले नारेश्वरमा केही दिनयता दैनिक आन्तरिक पर्यटक घुम्नका लागि आउने गरेको जानकारी दिए ।

    करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको नारेश्वर ताल कङ्क्रिट ग्राभिटी ड्याम प्रविधिबाट निर्माण गरिएको छ । तालको बाँध करिब आठ मिटर अग्लो रहेको छ भने तालको औसत गहिराइ २.५ देखि तीन मिटरसम्म रहेको छ ।

    नारेश्वर ताल व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण भएको हो । आयोजनाको अनुमानित लागत करिब रु चार करोड रहेको छ ।