


दमौली, १४ भदौ । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा गत भदौ १० गते आएको आकस्मिक बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूमध्ये हालसम्म १४ जनाको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ।
प्रदेश अस्पताल दमौलीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार भदौ १२ गते बेलुका ६ बजेसम्म अस्पतालमा ८ जनाको शव राखिएको थियो। तीमध्ये एक महिला, दुई पुरुष तथा पाँच जनाको पहिचान खुल्न सकेको थिएन।
भदौ १३ गते बेलुका ७ः३० बजे थप पाँच शव अस्पताल ल्याइएको थियो। तीमध्ये एक पुरुष, एक महिला तथा तीन जनाको पहिचान खुल्न सकेको छैन।
त्यस्तै, भदौ १४ गते दिउँसो १ बजे थप एक बालिकाको शव ल्याइएपछि प्रदेश अस्पताल दमौलीको मर्चरीमा राखिएका शवको संख्या १४ पुगेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार बाढीमा परी मृत्यु भएकाहरूको पहिचान तथा आवश्यक प्रक्रिया अगाडि बढाउने कार्य भइरहेको छ।