


तनहुँ, ५ असोज । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले संशोधित कार्यविधि खारेज नभएसम्म लोककल्याणकारी विज्ञापनबापतको बिल नबुझ्न जिल्ला हुलाक कार्यालय तनहुँलाई आग्रह गरेको छ।
महासंघ तनहुँ शाखाले सोमबार जिल्ला हुलाक कार्यालय तनहुँलाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो।
सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्ने व्यवस्था गरे पनि त्यससँग बाझिने गरी कार्यविधि संशोधन गरिएको महासंघको भनाइ छ। संशोधित कार्यविधिका कारण छापामाध्यमले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको मासिक रकममा भारी कटौती हुने भन्दै महासंघले असहमति जनाएको छ।
नेपाल पत्रकार महासंघले संशोधित कार्यविधि खारेज गर्न निरन्तर माग गर्दै आए पनि विज्ञापन बोर्डले महासंघको आग्रहलाई बेवास्ता गर्दै लोककल्याणकारी विज्ञापनबापतको बिल बुझ्ने कार्य अघि बढाएको भन्दै तनहुँ शाखाले गम्भीर असहमति जनाएको छ।
संशोधित कार्यविधि खारेज गरी सञ्चारमाध्यमलाई पूर्ववत् रूपमा लोककल्याणकारी विज्ञापनको सुविधा उपलब्ध गराउन दबाब दिने उद्देश्यले महासंघले विरोधका कार्यक्रम अघि बढाउने जनाएको छ।
महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा संशोधित कार्यविधि खारेज नभएसम्म लोककल्याणकारी विज्ञापनबापतको बिल नबुझ्न जिल्ला हुलाक कार्यालय तनहुँलाई आग्रह गरिएको छ।