भोटेकोशी बाढी बारे मेरो प्रारम्भिक प्राविधिक विष्लेषण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    भोटेकोशी बाढी बारे मेरो प्रारम्भिक प्राविधिक विष्लेषण

    श्रीराम न्यौपाने

    ९ आश्विन २०८३, शनिबार

    १६ दिनको बसाइ, स्थलगत निरिक्षण र अध्ययन पस्चात मेरो प्रारम्भिक प्राविधिक विश्लेषण अनुसार भोटेकोशी बाढीको मुख्य कारण तिब्बती क्षेत्रमा गएको हिमपहिरो र हिमताल प्रणालीमा पारेको विचलन र त्यसबाट उत्पन्न भएको असामान्य जलप्रवाह नै रह्यो।

    हिमपहिरोका कारण ठूलो मात्रामा पानी एकैपटक ह्वात्तै मुक्त हुँदा नदी प्रणालीमा अत्यधिक ऊर्जा भएको आकस्मिक बाढी उत्पन्न भएको अनुमान गर्न सकिन्छ।

    बाढीको बहाव गति माथिल्लो तटीय क्षेत्रमा अत्यन्त उच्च रहेको देखिन्छ। प्रारम्भिक मूल्याङ्कन अनुसार सबैभन्दा माथिल्लो तटीय क्षेत्रमा बहावको गति करिब १८८ कि मि प्रति घण्टासम्म पुगेको अनुमान गरिएको छ। रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको क्षेत्रमा करिब ८३ कि मि प्रतिघण्टा, स्याफ्रुबेसीदेखि बेत्रावतीसम्म करिब ६५ कि मि प्रतिघण्टा, बेत्रावतीदेखि मलेखुसम्म करिब २९ कि मि प्रतिघण्टा र मलेखुदेखि देवघाटसम्म करिब २३ कि मि प्रतिघण्टाको गति रहेको देखिन्छ।

    यस बाढीमा थपिएको अतिरिक्त पानीको मात्रा करिब २ करोड घनमिटर अर्थात् २० अर्ब लिटर रहेको अनुमान गरिएको छ। तर यस घटनाको विनाशकारी पक्ष पानीको मात्रा मात्र नभई त्यसले बोकेर ल्याएको ठूलो परिमाणको डेब्रिस (Debris) पनि हो। ढुङ्गा, माटो, लेदो, काठ, गिट्टी र बालुवा सहितको Debris करिब २ करोड टन अर्थात् करिब १ करोड घनमिटर रहेको अनुमान गरिएको छ।

    बाढीपछिको भू–आकृतिक परिवर्तन हेर्दा नदीको पुरानो सतह समेत उल्लेखनीय रूपमा माथि उठेको देखिन्छ। तल्लो तटीय क्षेत्रमा नदीको पिँधको सतह कम्तीमा २ मिटरसम्म र माथिल्लो तटीय क्षेत्रमा करिब ८ मिटरसम्म, केही स्थानमा अझ बढी उठेको अनुमान गरिएको छ। स्थानीय तटीय क्षेत्रमा नदीका दुवै किनारतर्फको Deposit zone मा करिब १५ मिटरसम्म लेदो र डेब्रिस थुप्रिएको अवस्था देखिएको छ। तल्लो तटीय क्षेत्रमा पनि २ देखि ८ मिटरसम्म Debris थुप्रिएको पाइन्छ।

    High Flood Level (उच्च बाढी सतह) नदीको चौडाइ र भू–आकृति अनुसार फरक देखिएको छ। केही स्थानमा यो ९० मिटरदेखि १५० मिटरसम्म माथि पुगेको पाइयो। साँघुरा खोँचहरूमा बाढीको ऊर्जा केन्द्रित रहेको थियो भने नदी केही तल्लो तटीय एवं फराकिलो हुने स्थानमा प्रवेश गर्दा उच्च बाढी सतह (HFL) २० देखि ३० मिटरसम्म पुगेको देखिन्छ।

    विशेषगरी करिब १० डिग्रीको ढलान भएका क्षेत्रमा Debris प्रवाह अत्यन्त शक्तिशाली थियो। ठूलो मात्रामा बोल्डर र चट्टान बोकेको यस प्रवाहले साँघुरो खोँचलाई बन्दुकको नलीजस्तो प्रभावकारी बहाव मार्ग बनाएको थियो, जसले गर्दा प्रवाहको वेग र विनाशकारी क्षमता अझ बढेको हो।

    इन्जिनियरिङ हिसाबले हेर्दा यस बाढीमा ३० मिटरसम्म गहिरो बहाव तहमा अत्यधिक ऊर्जा रहेको अनुमान गर्न सकिन्छ। अत्यन्त उच्च बहाव कायम रहेको र peak discharge (अधिकतम बहाव) करिब ५० हजारदेखि ८० हजार घनमिटर प्रतिसेकेन्डसम्म पुगेको प्रारम्भिक अनुमान छ।

    यस क्रममा करिब ३ मिटरसम्म आकारका ठूला बोल्डरहरू समेत बगाएको पाइएको छ। यस्ता बोल्डरको तौल करिब २५ टनसम्म हुन्छ र तीव्र गतिमा बग्दा तिनले अत्यधिक गतिको ऊर्जा बोकेका हुन्छन्। उदाहरणका रूपमा यस्ता ठूला चट्टानहरूले करिब ३ Megajoule सम्मको ऊर्जाले ठक्कर दिएर जलविद्युत आयोजनाका बाँध पुल,भवन जस्ता भौतिक संरचनालाई क्षति पुर्याउँदै र नदी किनारमा समेत ठूलो क्षति पुर्‍याएको छ।

    समग्रमा हेर्दा यो सामान्य बाढी नभई हिमपहिरोबाट उत्पन्न उच्च ऊर्जा भएको Debris Flow Impact (ढुङ्गा–माटोसहितको तीव्र बहावको प्रभाव) थियो। यसको प्रभाव बुझ्न पानीको मात्रा मात्र होइन, बहावको गति, भू–आकृति, Debris को मात्रा र नदीको वहन क्षमतामा आएको परिवर्तनलाई समेत सँगसँगै विश्लेषण गर्न आवश्यक हुन्छ।