डेढगाउँ पुलको एप्रोच सडक मर्मतमा स्थानीयको सक्रियता, बौदीकालीतर्फको काम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    डेढगाउँ पुलको एप्रोच सडक मर्मतमा स्थानीयको सक्रियता, बौदीकालीतर्फको काम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८३, मंगलवार

    नवलपुर, २० असोज । अविरल वर्षाका कारण क्षतिग्रस्त कालीगण्डकी नदीमाथिको मोटरेबल पुलको डेढगाउँतर्फको एप्रोच सडक मर्मत कार्य सम्पन्न भएको छ।

    बौदीकाली गाउँपालिकाका अनुसार पछिल्ला तीन दिनदेखि स्थानीयवासीको उत्साहजनक सहभागिता, श्रम र सहयोगमा बौदीकालीतर्फको एप्रोच रोड निर्माण तथा मर्मत कार्य सम्पन्न गरिएको हो। सडकलाई थप व्यवस्थित र मजबुत बनाउन पिलर क्षेत्रको काम भने एक्साभेटरमार्फत निरन्तर गरिने गाउँपालिकाले जनाएको छ।

    गाउँपालिका अध्यक्ष प्रकाश ओझाले विपद्को कठिन समयमा स्थानीयवासीले देखाएको एकता, सहयोग र सामूहिक भावनाप्रति धन्यवाद व्यक्त गरेका छन्। विभिन्न स्थानबाट सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराउन नसकिए पनि आवश्यकताअनुसार आगामी दिनमा सहयोग लिइने उनले बताएका छन्।

    बौदीकालीतर्फको अवरोध हटे पनि तनहुँतर्फको एप्रोच सडक क्षतिग्रस्त रहेकाले पुल तत्काल सञ्चालनमा आउन सकेको छैन। तनहुँतर्फको क्षति पुनर्निर्माण गरी पुल सञ्चालनमा ल्याउन गाउँपालिकाले सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल गरिरहेको अध्यक्ष ओझाले बताएका छन्।

    गाउँपालिकाले तनहुँतर्फको एप्रोच सडक तत्काल मर्मत गरी पुल सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ।