‘नेता हार्न सक्छ, विचार हार्नु हुँदैन’ : देवकुमार श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘नेता हार्न सक्छ, विचार हार्नु हुँदैन’ : देवकुमार श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८३, बुधबार

    तनहुँ, २१ असोज । नेपाली कांग्रेस तनहुँका उपसभापति एवं महाधिवेशन प्रतिनिधि देवकुमार श्रेष्ठले पार्टीभित्रको गुटबन्दी, स्वार्थ र प्रतिशोधको राजनीतिबाट माथि उठ्नुपर्ने बताएका छन्।

    नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ को १५औँ अधिवेशनमा भएका राजनीतिक गतिविधि र निर्वाचनका घटनालाई आफूले नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै श्रेष्ठले उक्त अधिवेशनलाई आफ्नो राजनीतिक जीवनको महत्वपूर्ण ‘पाठशाला’का रूपमा लिएको बताएका हुन्।

    एक अपिल जारी गर्दै श्रेष्ठले कांग्रेसलाई बलियो बनाउन ‘म’ र ‘हामी’भन्दा माथि उठेर पार्टी र देशलाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनले कांग्रेसको मुख्य चुनौती नै व्यक्ति र समूहगत स्वार्थ भएको उल्लेख गर्दै गलत प्रवृत्तिको विरोध गर्नु आफ्नो उद्देश्य रहेको स्पष्ट पारेका छन्।

    “नेता हार्न सक्छ, तर विचार हार्नु हुँदैन। व्यक्ति पराजित हुन सक्छ, तर सत्य र न्यायको आवाज पराजित हुनु हुँदैन,” श्रेष्ठले भनेका छन्।

    उनले वैरभाव र प्रतिशोधलाई राजनीतिका रूपमा लिन नहुने भन्दै मतदातालाई प्रभावित पार्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने बताएका छन्। व्यक्ति तथा स्वार्थलाई पार्टी र देशभन्दा माथि राख्ने प्रवृत्तिले संगठनको जरा कमजोर बनाउने उनको भनाइ छ।

    श्रेष्ठले २०८३ असोज १३ गते कांग्रेस तनहुँ क्षेत्र नं. १ मा गुटबन्दीको विरोध गर्दै आफूले धारणा राखेको स्मरण गर्दै त्यसकै कारण आफूलाई केन्द्रीय राजनीतिमा समाहित हुन नदिन प्रयास भएको महसुस गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत पनि आफूले ‘गुटले फुट सिर्जना गर्छ, गुटको अन्त्य गरौँ’ भन्ने धारणा राखेको उनले उल्लेख गरेका छन्।

    “व्यक्तिको बाटो रोकिए पनि विचारको बाटो रोकिँदैन,” श्रेष्ठले अपिलमा भनेका छन्।

    उनले आफ्ना शुभेच्छुक, मतदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै केही परिस्थितिमा उनीहरूको मत र भावनालाई उचित रूपमा संरक्षण गर्न नसकेकोमा क्षमायाचना गरेका छन्।

    श्रेष्ठले अधिवेशनबाट निर्वाचित सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै पराजित, सरल, सोझा र इमानदार साथीहरूको पक्षमा आफू निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    “म स्वार्थको पक्षमा होइन, न्याय र विचारको पक्षमा उभिनेछु। हार्नेहरूको आवाज र मुद्दालाई पनि उठाउनेछु,” उनले भनेका छन्।

    आफू जहाँ रहे पनि साथीहरूले दिएको विचार र विश्वासलाई साथमा लिएर अघि बढ्ने बताउँदै श्रेष्ठले आगामी दिनमा पनि न्याय र विचारको पक्षमा आफ्नो भूमिका निरन्तर रहने बताएका छन्।