


तनहुँ २१ असाेज । म्याग्दे उद्योग वाणिज्य संघले म्याग्दे गाउँपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत विकास परियारलाई स्वागत गरेको छ ।संघले आयोजना गरेको स्वागत कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विकास परियार, उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दरमणि अधिकारी, उपाध्यक्ष सुरेन्द्र अधिकारी र सचिव राजिव श्रेष्ठले धारणा राखेका थिए ।
कार्यक्रममा गाउँपालिका र निजी क्षेत्रबीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै स्थानीय उद्योग, व्यवसाय र आर्थिक गतिविधिको विकासमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए । स्थानीय व्यवसायीका समस्या समाधान, लगानीको वातावरण निर्माण तथा गाउँपालिकाभित्र आर्थिक गतिविधि विस्तारका लागि स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
प्रमुख प्रशासकीय अधिकृत परियारले गाउँपालिकाको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीका समस्या र सुझावलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।