एजेन्सी : साविकको विजेता टोली लिभरपुलले प्रिमियर लिग फुटबलमा उत्कृष्ट सुरुआत गरेको छ । लिभरपुलले शनिबार राति भएको सिजनको पहिलो खेलमा रोमाञ्चक जित निकालेको हो । लिभरपुलले पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै सिजनको सुखद सुरुआत गरेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । यस्तै भिर्गिल भान डाइकले एक गोल गरे ।
उता लिड्सका ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेउ क्लीचले एक–एक गोल फर्काए । लिभरपुलका लागि खेलको चौंथो मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । लिड्का लागि १२ औँ मिनेटमा ह्यारिसनले बराबरी गोल फर्काए । २० औँ मिनेटमा भान डाइकले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । उता लिड्का लागि ३० औँ मिनेटमा प्याट्रिकले गोल गर्दै खेल पुनः बराबरीको अवस्थामा ल्याए ।
३३ औँ मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–२ को अग्रता दिलाए । ६६ औँ मिनेटमा क्लीचले गोल गर्दै लिड्सलाई ३–३ गोलको बराबरीमा ल्याए । ८८ औँ मिनेटमा सलहाले तेस्रो गोलसँगै ह्याट्रिक पूरा गर्दै लिभरपुललाई ४–३ गोलको जित दिलाए । जितसँगै लिभरपुलले एक खेलबाट ३ अंक जोडेको छ । उता यसै सिजन मात्र प्रिमियर लिगमा बडुवा भएको लिड्सले हारबाट सिजनको सुरुआत गरेको छ ।