तनहुँ : गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिका–८ सोतीवेशी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो ।
उक्त पुलको शनिबार प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले गुणस्तरीय पुल निर्धारित समयमै सक्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभयो । प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि जोड दिएको मन्त्री बस्नेतले बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य रामबहादुर गुरुङले चुनावको बेला गरेको प्रतिबद्धता बमोजिम पक्की पुल निर्माण शुरु भएको बताउँदै स्थानीयवासीको वर्षौदेखिको चाहना अब पूरा हुने क्रममा रहेको बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइएसएस हिम निर्माण सेवा जेभी काठमाडौसँग सम्झौता भएको जानकारी दिनुभयो । रु चार करोड १६ लाख ४५ हजार आठ सय ४० को लागतमा निर्माण हुने पुलको लम्बाई ४० मिटर र चौडाइ ८.४ मिटर रहेको छ । सिङ्गल बिम पुल निर्माणका लागि रु पाँच करोड ३५ लाख २६ हजार दुई सयको इष्टमेट गरिएको थियो ।
पुल निर्माणका लागि विसं २०७७ असार ७ गते सम्झौता भएको थियो । विसं २०७८ पुस ७ गतेभित्र पुल निर्माण सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । पक्की पुल नहुँदा दुई जिल्लाका स्थानीयवासीलाई आवतजावत सास्ती हुँदै आएको थियो । पक्की पुलको अभावमा घण्टौ हिँडेर आवतजावत गर्नुपर्ने बाध्यता पुल निर्माण भएसँगै हट्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।