तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्वलाई लक्षित गरी पाँच स्थानमा सहायता कक्ष सञ्चालन गर्ने भएको छ । चाडपर्वको क्रममा यात्रा गर्दा यात्रुलाई पर्न सक्ने समस्या तत्कालै समाधान गर्ने उद्देश्यले प्रहरीले पृथ्वीराजमार्गका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनको तयारी गरेको हो ।
मुग्लिङदेखि कोत्रेसम्मका पाँच ठाउँमा स्थापना हुने यात्रु सहायता कक्षले यात्रुहरुका गुनासो समाधान गर्ने प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार आँबुखैरेनी गाउँपालिकाको पुलजीप, बन्दीपुर गाउँपालिकाको डुम्रे, व्यास नगरपालिकाको दमौली, म्याग्दे गाउँपालिकाको थर्पु र शुक्लागण्डकी नगरपालिकाको कोत्रेमा यात्रु सहायता कक्ष स्थापना हुनेछ ।
“चाडपर्वमा घर फर्किने यात्रुहरुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्,” प्रहरी उपरिक्षक पौडेलले भन्नुभयो, “सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गर्न लागेका हौ ।” प्रहरी उपरिक्षक पौडेलका अनुसार लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् । “यात्रुले सहायता कक्षमा आएर आफ्नो समस्या राखेपछि प्रहरीले तत्कालै समस्या समाधान गर्नेछ,” पौडेलले भन्नुभयो ।