तनहुँ : मृत्यु पश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर बुधबार परिवारले दाहसंस्कार गरेका छन् । गत असाेज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् ।
कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उहाँको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उहाँको मृत्यु पश्चात् परिवार होम क्वारेन्टिनमा बसेको र स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि दाहसंस्कार गरिएको छिमेकी एवं पत्रकार प्रदीप काफ्लेले जानकारी दिनुभयो । “कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कार अनुसारको काजकिरियाको काम थालेको छ,” उहाँले भन्नुभयो ।
साङ्केतिक तस्वीर