दशैं बिदाबाट फर्किएका मजदुर काममा खटिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    दशैं बिदाबाट फर्किएका मजदुर काममा खटिए

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७७, बुधबार

    तनहुँ : दशैं बिदा सकिएसँगै क्याम्प फर्किएका मजदुरलाई काममा खटाइएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका मजदुरलाई काममा खटाइएको हो ।

    दशैं बिदा सकिएर क्याम्प फर्किएका मजदुरको पिसीआर परीक्षण गरिएसँगै काममा खटाइएको आयोजनाका प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो । क्याम्प फर्किएकामध्ये ७१ मजदुरको पिसीआर परीक्षण गरिएकामा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण पुष्टि भएकालाई क्याम्पभित्रै निर्माण गरिएको आइसोलेशनमा राखिएको र बाँकीलाई काममा लगाइएको घिमिरेले बताउनुभयो ।

    घिमिरेका अनुसार आयोजनाले क्याम्पभित्रै २० शैय्या क्षमताको आइसोलेशन बनाएको छ । “सङ्क्रमितलाई आइसोलेशनमा राखेर बाँकीलाई विद्युतगृह निर्माणको काममा लगाएका छौ,” उहाँले भन्नुभयो ।

    दशैं मान्न घर गएका मजदुर टीकाको भोलिपल्ट काममा फर्किएका थिए । नेपाली मजदुर दशैं बिदामा घर गएका बेला पनि चिनियाँ मजदुरले विद्युतगृह निर्माणको काम सुचारु राखेका थिए । असोज अन्तिम साता सबै मजदुरको पिसीआर परीक्षण गरिनुपर्ने माग सहित मजदुरले आन्दोलन गरेका थिए । निर्माण कम्पनीले सबै मजदुरको पिसीआर परीक्षण गरेपछि काम सुचारु भएको थियो ।

    सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि अगाडी बढेको छ ।

    दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।

    आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।