तनहुँ : मानुङकाेट घुम्न आउने पर्यटकको सङ्ख्या बढेर फोहरमैला व्यवस्थापनमा समस्या देखिन थालेपछि व्यास नगरपालिकाले सरसफाई गर्ने कर्मचारी खटाएको छ । कात्तिक अन्तिम सातादेखि एक जना कर्मचारीलाई मानुङकोटको सरसफाईमा खटाइएकाे हाे ।
मानुङकाेट आउने पर्यटकले लापरवाही गर्दा फोहरमैला बढेको र यसले नकारात्मक सन्देश फैलिने भएकाले सरसफाई गर्न कर्मचारी खटाइएको सोही वडाका अध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयाे । उहाँका अनुसार ती कर्मचारीले दैनिक रुपमा मानुङकाेट क्षेत्रमा सरसफाई गर्नेछन् ।
मानुङमा विभिन्न संघसंस्थाले समेत डस्टवीन सहयोग गरिरहेको श्रेष्ठले बताउनुभयाे । घुम्न आएका पर्यटकलाई मानुङकोटमा सुन्दरतामा आँच आउने जथाभावी फोहर नगर्न श्रेष्ठकाे अनुराेध छ ।
दमौली बजारदेखि ६ किलोमिटर पर पर्ने मानुङकोटमा पछिल्लो समय तनहुँका विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, गोरखा, चितवन, काठमाडौं लगायत देशका विभिन्न स्थानबाट घुम्न आउने गरेका छन् ।