


दमौली, २० भदौ । सामाजिक अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा रहेको टोलीले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
दमौली क्षेत्रका विभिन्न शुभेच्छुक, सहयोगदाता तथा स्थानीयवासीबाट संकलन गरिएको राहत सामग्री लिएर टोली प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले बाढीबाट घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएका ५ सयभन्दा बढी परिवारलाई राहत वितरण गरेको जनाएको छ।

राहतस्वरूप प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनयापनका लागि आवश्यक भाडाकुडा लगायतका सामग्री वितरण गरिएको थियो।

बाढीका कारण प्रभावित क्षेत्रमा धेरै परिवार विस्थापित हुनुका साथै दैनिक जीवन कष्टकर बनेको अवस्थामा राहत सामग्रीले पीडित परिवारलाई केही भए पनि सहयोग पुग्ने विश्वास गरिएको सामाजिक अभियान्ता गफ्फारले बताए।

विपद्को कठिन घडीमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले मानवीय सेवाको भावना थप बलियो बनेको गफ्फारले उल्लेख गरे।
टोलीले धादिङ र नुवाकोटका बाढी प्रभावित बस्तीमा पुगेर आवश्यकताको आधारमा राहत सामग्री वितरण गरेको जनाएको छ। बाढीपीडितको पुनःस्थापना र दैनिक जीवन सहज बनाउन सरकारी निकायसँगै सामाजिक संघसंस्था तथा व्यक्तिहरूको सहयोग निरन्तर आवश्यक रहेको उनको भनाइ छ।