


तनहुँ,४ मंसिर। जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरे गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले घिमिरेलाई २०८३ साल कार्तिक महिनाको ‘उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको हो । प्रहरी संगठनको नीति निर्देशनअनुसार प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्व इमानदार, बफादार र कर्तव्यनिष्ठ भई उच्च व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
कार्तिक महिनामा घिमिरेको नेतृत्वमा कर्तव्य ज्यान कसुरमा संलग्न एक जना, विभिन्न मुद्दामा फरार रहेका १३ जना प्रतिवादी, अवैध जुवातासमा संलग्न सात जना तथा अवैध लागुऔषधसहित छ जना पक्राउ परेका थिए । उनीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै प्रदेश प्रहरी कार्यालयले उहाँको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरेको जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले मङ्सिर ४ गते जारी गरेको प्रमाणपत्रमार्फत घिमिरेलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।