


तनहुँ, ५ मंसिर । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले सर्च एण्ड स्वीप अपरेसन सञ्चालन गरी १२ जनालाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार जिल्लाका विभिन्न स्थानमा लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथाम गर्ने उद्देश्यले अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
अपरेसनका क्रममा नियन्त्रणमा लिइएका १२ जनामध्ये तीन जनालाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको छ भने बाँकी नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्लामा शान्ति सुरक्षा कायम राख्न तथा विभिन्न गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले यस्ता अभियानलाई निरन्तरता दिँदै आएको छ ।