तनहुँ : तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा दुई किमिको फरकमा दुई पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् वडा नं ८ मा दुई पक्की पुल निर्माण शुरु भएको हो ।
तनहुँको व्यास नगरपालिका–८ र लमजुङको मध्यनेपाल नगरपालिका–१ तथा व्यास नगरपालिका–८ र मध्यनेपाल नगरपालिका–२ जोड्ने रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो । उक्त पुलको दूरी दुई किलोमिटर रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । “दुवै ठाउँमा पुलको अति आवश्यकता रहेकाले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् योजना परेर पुल निर्माणको काम शुरु गरिसकेका छौ,” ढुङ्गानाले भन्नुभयो ।
व्यास–८ र मध्यनेपाल–१ जोड्ने पुल निर्माणका लागि रु चार करोड ४७ लाख २९ हजार पाँच सय ३६ मा सम्झौता भएको छ । विसं २०७६ पुस २३ गते सम्झौता भएको पुल विसं २०७८ असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । पुल निर्माणको ठेक्का रोशन कन्स्ट्रक्सन लिमिटेडले पाएको छ । ५२ मिटर लामो पुल निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन गरेको ढुङ्गानाले जानकारी दिनुभयो ।
यस्तै असोज तेस्रो सातादेखि व्यास–८ सोतीवेशी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ढुङ्गानाले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइएसएस हिम निर्माण सेवा जेभी काठमाडौसँग सम्झौता भएको जानकारी दिनुभयो । रु चार करोड १६ लाख ४५ हजार आठ सय ४० को लागतमा निर्माण हुने पुलको लम्बाई ४० मिटर र चौडाइ ८.४ मिटर रहेको छ । सिङ्गल बिम पुल निर्माणका लागि रु पाँच करोड ३५ लाख २६ हजार दुई सयको इष्टमेट गरिएको थियो ।
पुल निर्माणका लागि विसं २०७७ असार ७ गते सम्झौता भएको थियो । विसं २०७८ पुस ७ गतेभित्र पुल निर्माण सम्पन्न हुनेछ । पक्की पुल नहुँदा दुई जिल्लाका स्थानीयवासीलाई आवतजावत सास्ती हुँदै आएको थियो । पक्की पुलको अभावमा घण्टौ हिँडेर आवतजावत गर्नुपर्ने बाध्यता पुल निर्माण भएसँगै हट्ने भएपछि स्थानीयवासी खुशी भएका छन् ।