‘हर्न’ बजाउने लाई कारवाही !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘हर्न’ बजाउने लाई कारवाही !

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७७, शुक्रबार

    तनहुँ : तनहुँको सदरमुकाम दमौली बजारमा सवारी चलाउँदा हर्न बजाउने गर्नुभएको छ ? यदि छ भने होसियार हुनुहोस् । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले शुक्रबारदेखि हर्न बजाउने सवारी चालकलाई कारवाही शुरु गर्ने भएकाे छ ।

    गत भदौ २५ गतेदेखि दमौली बजारलाई ‘नो हर्न ः नो ओभरटेक’ घोषणा गरिएको र यसबीचमा सचेतनामूलक कार्यक्रम मात्रै सञ्चालन गरिएकामा प्रहरी अब कारवाहीमा अगाडी बढ्न लागेको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । “यो बीचमा नो हर्न ः नो ओभरटेकबारे सवारी चालकलाई जानकारी गरायौ, सचेतनामूलक कार्यक्रम मात्रै गरिएकामा अब कारवाही पनि गर्छौ,” रानाभाटले भन्नुभयो ।

    ट्राफिक प्रहरी र तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सक्रियतामा दमौली बजारलाई नो हर्न ः नो ओभरटेक घोषणा गरि यसबारे सङ्केत सामग्री समेत राखिएको थियो । दमौली प्रवेश गर्ने बुल्दीपुल र मादीपुलमै नो हर्न ः नो ओभरटेकको सङ्केत सामग्री राखिएको छ । बुधबार मात्रै दमौलीस्थित प्रभु बैङ्कले उपलब्ध गराएको दश थान सामग्री भोर्लेटारचोकमा राखिएको छ ।

    अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको रानाभाटले बताउनुभयो । “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौ,” उहाँले भन्नुभयो ।

    दमौलीको ट्राफिक व्यवस्थापन सुधार योजना अन्तर्गत प्रहरीले बजार क्षेत्रका विभिन्न ठाउँमा एकतर्फी पार्किङ पनि शुरुवात गरिसकेको छ । “ट्राफिक व्यवस्थान प्रहरी एक्लैले मात्रै गरेर सम्भव छैन, दमौलीका विभिन्न सङ्घसंस्थाले पनि हामीलाई सहयोग पु¥याउनुभएको छ,” रानाभाटले भन्नुभयो, “यसले गर्दा प्रहरीलाई पनि सहज भएको छ ।”

    प्रहरीले दमौली बजारका विभिन्न ठाउँमा अठार वटा जेब्रा क्रस बनाउने तयारी पनि गरेको छ । जथाभावी रुपमा बाटो काटिदिँदा दुर्घटना हुने गरेकाले निश्चित ठाउँ निर्धारण गरेर बाटो काट्ने व्यवस्था मिलाउन लागिएको रानाभाटले बताउनुभयो । “बजारको मुख्य मुख्य ठाउँहरु पहिचान गरी जेब्रा क्रस बनाउँदैछौ, यसले पनि दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार भोर्लेटार, सफासडक, प्रशासनचोक लगायतका ठाउँमा जेब्रा क्रस बनाइनेछ ।

    तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई सभापति राजकुमार श्रेष्ठले दमौलीको ट्राफिक व्यवस्थापनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । “प्रहरी एक्लैले गर्नुपर्छ भनेर बस्यौ भने त्यसले सुधार हुँदैन, सबै पक्षको सहयोग खाँचो छ,” उहाँले भन्नुभयो, “दमौली बजार इकाई विगतदेखि नै ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको छ ।” दमौली बजारमा इकाईकै सक्रियतामा सिसि क्यामरा जडानको काम शुरु भएको थियो ।