एक घर एक धारा : हुँदैछ वडाध्यक्षको प्रतिबद्धता पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक घर एक धारा : हुँदैछ वडाध्यक्षको प्रतिबद्धता पूरा

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७७, बिहीबार

    तनहुँ : गत स्थानीय तहको निर्वाचन अगाडीसम्म तनहुँको व्यास नगरपालिका–१४ मा एक सय ७५ घरधुरीमा मात्रै घर–घरमा खानेपानी सुविधा पुगेको थियो । निर्वाचनमा मतदातासँग मत माग्न जाँदा वडाध्यक्षका उम्मेदवार काजीमान श्रेष्ठले भन्नुभएको थियो, “हरेक घरमा खानेपानी पु¥याउने मेरो पहिलो प्राथमिकता हुनेछ ।”

    श्रेष्ठले निर्वाचन जितेसँगै मतदातासँग गरिएका प्रतिबद्धता कार्यान्वयनमा लाग्नुभयो । श्रेष्ठको यस अवधिको कार्यकालमा उक्त वडाका ५ सय ४० घरधुरीमा खानेपानी सुविधा पुगेको छ । “निर्वाचनमा जे प्रतिबद्धता गरेको थिएँ, प्रतिबद्धता पूरा गराउनका लागि नियमित खटिए, आज उक्त प्रतिबद्धता पूरा हुने क्रममा छ,” उहाँले भन्नुभयो, “अब केही दिनभित्रै थप एक सय पाँच घरधुरीमा खानेपानी सुविधा पुग्दैछ ।”

    नयाँ पानीको स्रोत खोज्नुभन्दा पनि भइरहेको स्रोतको पहिचान गरी प्रत्येक घरमा धारा जडान गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । “वडाभित्र प्रशस्त पानीको स्रोत रहेछन्, त्यसकै पहिचान गरी सदुपयोग गर्नेतर्फ लागे,” उहाँले भन्नुभयो । यसअवधिमा ‘एक घर ः एक धारा’ अभियानमा करिब रु एक करोड ५० लाख बजेट खर्च भएको छ ।

    वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त वडाको कुलुङका ७०, केशवटारका ४५ र छाब्दीका ६० घरधुरीमा यस अगाडी नै घर घरमा खानेपानी सुविधा पुगेको थियो । जनप्रतिनिधि आएपछि रुम्सीका एक सय १३, ठिनका ७१, बेलभञ्ज्याङका ३६, सोधेरका ४५, हर्कपुरका ३६, मास्दीका ४९, कैजलेका ४०, रासीभञ्ज्याङका २४ घरधुरीमा खानेपानी सुविधा विस्तार भएको छ । नयाँगाउँका ६५ र आँपटोलका ४० घरमा धारा जडानको काम भइरहेको छ । “हाम्रो कार्यकाल अवधिमा खानेपानी सुविधा नपुगेका घरमा खानेपानी सुविधा पु¥याउने लक्ष्य राखेका थियौ, उक्त लक्ष्य सफल हुने क्रममा छ,” श्रेष्ठले भन्नुभयो ।

    प्रत्येक गाउँमा खानेपानी सुविधा पुगेसँगै अब स्थानीयवासीलाई कृषि र पशुपालनतर्फ लाग्न प्रोत्साहन गरिने वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । “पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, तरकारी खेतीतर्फ लाग्न स्थानीयवासीलाई वडाको तर्फबाट पनि प्रोत्साहन गर्छौ,” उहाँले भन्नुभयो ।

    घरमै पानी आएपछि नाचगान

    रासीभञ्ज्याङका २४ घरधुरीमा बुधबार मात्रै खानेपानी सुविधा पुगेको छ । यस अगाडी अस्थायी रुपमा पाइपबाट खानेपानी प्रयोग गर्दै आएका स्थानीयवासी घरमै धारा जडान भएपछि खुशी भएका छन् । भइरहेको पानीको स्रोत सदुपयोग गर्दै ट्याङ्की निर्माण गरेर घरघरमा पानी पु¥याइएको छ ।

    घरमै धारामार्फत् पानी आएपछि खुशी लागेको स्थानीयवासी देवीमाया आलेले बताउनुभयो । “घरमै धारा नहुँदा पानीको जोहो गर्न समय लाग्थ्यो, भनेको समयमा काम गर्न पाइदैनथ्यो, अहिले त घरमै धारा भएपछि आनन्द भयो,” उहाँले भन्नुभयो ।

    स्थानीयवासी एवं कार्यपालिका सदस्य नरीमाया आलेले छोराछोरीलाई विद्यालय पठाउनुपर्ने समयमा पानीको जोहो गर्न जानुपर्दा समस्या हुने गरेकामा अब उक्त दुःख हटेको बताउनुभयो । “पानीको निकै दुःख थियो, अब त घरमै पानी आयो,” उहाँले भन्नुभयो, “करेसाबारीमा तरकारीखेती गर्न पनि सहज हुने भयो ।”

    वडाध्यक्ष काजीमान श्रेष्ठका अनुसार उक्त ठाउँमा रु पाँच लाखको लागतमा ट्याङ्की निर्माण गरेर घरघरमा धारा जडान गरिएको छ । उक्त खानेपानी योजना उद्घाटनका लागि पुग्नुभएका व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशी लगायत विभिन्न वडाका अध्यक्षहरुलाई स्थानीयवासीले पानी आएको खुशीयालीमा सँगै नचाएका छन् ।