तनहुँको विपद् प्रतिकार्य योजना निर्माण गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको विपद् प्रतिकार्य योजना निर्माण गरिने

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७७, आईतवार

    तनहुँ : जिल्ला विपद् व्यवस्थापन समिति तनहुँ विपद् जोखिम न्यूनीकरणका लागि विपद् प्रतिकार्य योजना निर्माणमा जुटेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १६ को उपदफा २ (ख) मा भएको व्यवस्था अनुसार जिल्लाको विपद् प्रति कार्ययोजना तयार गरी लागू गराउन समिति प्रतिकार्य योजना बनाउन जुटेको हो ।

    विपद् प्रतिकार्य योजना निर्माणका लागि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा नेपाल रेडक्रस सोसाइटी तनहुँका विपद् फोकल पर्सन सदस्य र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राममणि मिश्र सदस्य सचिव तोकिनुभएको छ ।

    प्रतिकार्ययोजना निर्माणका लागि जिल्लाका दशवटै स्थानीय तहसँग सूचना तथा समन्वय, खोज तथा उद्धार, आवास, खाद्य र गैरखाद्य सामग्रीको व्यवस्थापन, कृषि तथा जीविकोपार्जन, खानेपानी तथा सरसफाई, स्वास्थ्य र पोषण, संरक्षण, आपतकालिन शिक्षा, पशु स्वास्थ्य लगायतका विषय माग गरिएको छ ।

    प्रत्येक स्थानीय तहलाई आगामी फागुन मसान्तभित्र विवरण पठाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७ को उपदफा २ (घ) मा स्थानीय विपद् व्यवस्थापन समितिले स्थानीय तहका पदाधिकारी, कर्मचारी, स्वयंसेवक, सामाजिक परिचालक तथा समुदायलाई विपद् व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था मिलाइनेछ ।

    प्रमुख जिल्ला अधिकारी आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १७ को उपदफा २ (ट) मा व्यवस्था भए अनुसार सबै स्थानीय तहमा स्थानीय आतपकालिन सञ्चालन केन्द्र स्थापना गरी जिल्ला आपतकालिन सञ्चालन केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ ।

    विपद् व्यवस्थापन समितिले तनहुँ जिल्लाको शीतकालिन विपद् प्रतिकार्य योजना, २०७७ लाई अनुमोदन गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

    घर क्षति भएका २४७ को विवरण अनुमोदन

    विपद् व्यवस्थापन समितिले गत असार साउनमा बाढी पहिरोबाट क्षति भएका व्यक्तिको घर विवरणलाई अनुमोदन गर्ने निर्णय गरेको छ । घर भत्किएर अर्को बस्न योग्य भर नभएका घरवारविहिन भएका स्थानीय विपद् व्यवस्थापन समितिबाट सिफारिस भई आएका २४७ परिवारको नामावली गृह मन्त्रालयको निर्देशन अनुसार गृह मन्त्रालयमा पठाइएकोमा सो नामावली र विवरणलाई अनुमोदन गरिएको छ ।

    प्रशासन कार्यालयका अनुसार भीमाद नगरपालिकाका २९, घिरिङ गाउँपालिकाका ८, देवघाट गाउँपालिकाका १८, शुक्लागण्डकी नगरपालिकाका २१, भानु नगरपालिकाका ३२, आँबुखैरेनी गाउँपालिकाका ६, बन्दीपुर गाउँपालिकाका १३, म्याग्दे गाउँपालिकाका ४१, व्यास नगरपालिकाका ७७ र ऋषिङ गाउँपालिकाका २ परिवारको विवरण अनुमोदन गरिएको छ ।

    छुट विद्यालय समावेश

    विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षति भएर पुनर्निर्माणमा छुटेका जिल्लाका ९ विद्यालयलाई पुर्ननिर्माणको सूचीमा समावेश गराउन सिफारिस गर्ने निर्णय विपद् व्यवस्थापन समितिले गरेको छ । प्रशासन कार्यालयका अनुसार भानु नगरपालिका–३ स्थित मस्र्याङ्दी प्रावि, आँबुखैरेनी गाउँपालिका–५ स्थित रुद्रदेवी प्राविको दुई कोठे भवन, घिरिङ गाउँपालिका–३ स्थित कृष्णगङ्गा प्रावि, आँबुखैरेनी गाउँपालिका–६ स्थित विशेश्वर प्रावि, भीमाद नगरपालिका–२ स्थित अकला प्रावि, ऋषिङ गाउँपालिका–५ स्थित बाराही प्रावि, ऋषिङ गाउँपालिका–६ स्थित श्रृङ्गा मावि, ऋषिङ गाउँपालिका–१ स्थित शिवशक्ति प्रावि र ऋषिङ गाउँपालिका–५ स्थित जनजागृती प्राविको शौचालय भवन निर्माणका लागि सिफारिस गरिएको छ ।