दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका र मादी गाउँपालिका भिड्दैछन् ।
प्रतियोगिताका संयोजक एवं शुक्लागण्डकी नगरपालिका-५ का वडाध्यक्ष दीर्घबहादुर थापाले प्रतियोगितामा १५ टिमको सहभागिता रहेको जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो चरणका सात खेल शुक्रबार नै खेलाइनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख ५० हजार, द्वितीय हुनेलाई रु एक लाख, तृतीय हुनेलाई रु ५० हजार र सान्त्वना हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु १० हजारका साथै वेष्ट स्पाइकर, सेन्टर सर्वर, ब्लकर र डिफेन्डरलाई रु ५/५ हजार पुरस्कार प्रदान गरिनेछ ।