तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा प्रथम अध्यक्ष तथा तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु भएको छ । मनहरिस्थित आदर्श नमूना युवा क्लवको खेलमैदानमा शुरु प्रतियोगिताको बिहीबार गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले नयाँ वर्षको शुरुवातसँगै खेलकुदका गतिविधि अगाडी बढाउन लागिएको बताउनुभयो । खेल आयोजना भएपनि खेलाडी र रेफ्री उत्पादन गर्न नसक्नु अहिलेको समस्या रहेकाले त्यसतर्फ पालिकाले सोचेको उहाँको भनाई थियो ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले खेलकुदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । गाउँपालिकाले अब छिट्टै पालिकास्तरीय खेलकुद समिति गठन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवशरण वाग्ले, नेकपा एमालेका म्याग्दे इन्चार्ज रत्नादेवी घिमिरे, नेपाली काङ्ग्रेस म्याग्देका सभापति रामबहादुर अधिकारी, आदर्श नमुना युवा क्लवका अध्यक्ष गौरवराज रानाले बोल्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन श्रीराम खनालले गर्नुभएको थियो ।
यसैबीच पुरूष कर्मचारी र पुरूष जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि ३–१ ले विजयी भएका छन् । महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच भएको खेलमा कर्मचारी १–० ले विजयी भए । प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ ।