तनहुँसुर पर्यटन तथा वातावरण मेला हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँसुर पर्यटन तथा वातावरण मेला हुँदै

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    तनहुँ : पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा हुन लागेको पर्यटन सम्पदा तथा वातावरण मेलाको तयारी पूरा भएको छ ।

    तनहुँसुर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आइतबार र सोमबार हुने मेलाको तयारी पूरा भएको हो ।

    तनहुँसुर देवस्थल समुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेको आयोजना तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिको सहआयोजनामा मेला हुन लागेको हो । मेलाको पूर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

    तनहुँसुर दरवार परिसर अन्तरगतका पुरातात्विक सम्पदाका साथै वातावरण संरक्षण एवं प्रबर्धनका लागि जनचेतना अभिवृद्धि गर्न, हाल सञ्चालनमा रहेका र सञ्चालन उन्मुख होमस्टेहरुको प्रबर्धन गरी आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा उल्लेख्य वृद्धि गर्दै स्थानीय समुदायको समृद्धिका लागि टेवा पु¥याउने मेलाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका अध्यक्ष एवं वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो ।

    “पर्यटकीय गन्तव्यहरुमा परिरहेको वातावरणीय नकारात्मक प्रभाव न्युनीकरण गर्दै स्थानीय जनतानमा पर्यटनको प्रतिफल समुचित रुपमा वितरण तथा प्राकृतिक, सांस्कृतिक एवं वातावरणीय संरक्षणमा टेवा पु¥याउनु नै पर्यापर्यटनको मूलभूत उद्देश्य हो,” उहाँले भन्नुभयो ।

    नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य एवं उद्देश्य अनुरुप उत्साहजनक रुपमा सञ्चालनमा रहेका पर्यटकीय गतिविधिहरु एकाएक विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अस्तव्यस्त एवं अन्यौलको अवस्थामा पुग्न गएको हुँदा पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सहयोग पु¥याउने उद्देश्यसहित मेला हुन लागेको हो ।

    मेलाका अवसरमा तनहुँसुर दरबारमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न अन्तरक्रिया, वक्तृत्वकला, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय कार्यक्रम सहित सञ्चालन गरिनेछ । मेलाका अवसरमा धार्मिक एवं ऐतिहासिक स्थलहरुको भ्रमण तथा दर्शन, विविध सांस्कृतिक कार्यक्रम सहित होमस्टे अनुभव, तनहुँसुर इको ट्रेक, पुरातात्विक सम्पदा र वन तथा वातावरण सम्बन्धी प्रदर्शनी, पुरातात्विक सम्पदाको महत्व एवं वातावरण संरक्षण विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, खाना महोत्सव सञ्चालन गरिनेछ ।

    खाना महोत्सवमा स्थानीय समुदायको आयोजनामा अर्गानिक खानाका परिकारहरु (सेल रोटी, तरुल, भ्याकुर बटुकी,गुन्द्रुक, भट्ट, भुटेको मकै, सिस्नोको सूप, सुकुटी, लोकल कुखुराको मासु, कोदो÷फापरको ढिडो उपलब्ध गराइनेछ ।