तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–६ र ४ को सीमानामा पर्ने म्याग्दे खोलामा आइतबार बिहान वेवारिसे शव फेला परेको छ । अकलादेवीको मन्दिर नजिकैको खोलामा एक पुरुषको शव फेला परेको हो ।
खोलामा तैरिरहेको अवस्थामा स्थानीयवासीले शव देखेका थिए । ती पुरुषको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो ।
मादीमा डुबेका युवकको खोजी जारी
पौडी खेल्ने क्रममा व्यास नगरपालिका–५ मादीमा डुबेका एक युवक फेला पर्न सकेका छैनन् । स्याङ्जा घर भई हाल सोही वडाको मोचाबारी बस्ने १८ वर्षीय रमेश विक डुबेर बेपत्ता भएका थिए । ट्याक्टरमा सहचालक काम गर्ने विक बालुवा लिन मादीमा गएका बेला पौडी खेल्न नदीमा पुगेका थिए । बेपत्ता युवकको खोजी कार्य भइरहेपनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।