काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गर्नुभएकाे थियाे ।
वैकल्पिक सरकार गठनको प्रयासमा जुटेका नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमत जुटाउन असफल भए । जनता समाजवादी पार्टी -जसपा)को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नयाँ सरकार गठनका लागि साथ दिएन भने एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले वैकल्पिक सरकार गठनका लागि बहुमत पुग्ने गरी राजीनामा दिएन ।