दमाैली : तनहुँको व्यास नगरपालिका–४ निवासी भाग्यशाली ढुङ्गानाले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा सहयोग गर्नुभएको छ ।
व्यास नगरपालिकाका कर्मचारी समेत रहनुभएका ढुङ्गानाले रु पॉच हजार ५५ सहयोग गर्नुभएको हो । ढुङ्गाना शाखामा स्थापित टिकानिधी ढुङ्गाना स्मृति व्यास पराशर पत्रकारिता पुरस्कारका संस्थापक समेत हुनुहुन्छ ।
उहाँले यो अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गर्नुभयो । उहाँले यस रकमबाट कोरोना सङ्क्रमित विपन्न वर्गको हितमा समेत खर्च गर्न आग्रह गर्नुभयो । कल्याणकारी कोषमा सहयोग गरेकामा शाखाका अध्यक्ष उज्वल पौडेलले ढुङ्गानाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
सञ्चार क्षेत्र र सञ्चारकर्मीको हितमा खर्च हुने गरी शाखाले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुट्न शुरु भएको छ । कोषमा भानु नगरपालिका–९ का राम पाण्डेले रु २० हजार र व्यास नगरपालिका–१ निवासी प्रदीप न्यौपानेले रु दुई हजार पाँच सय ११ प्रदान गरिसक्नुभएको छ ।
शाखाको जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम कोषमा सहयोग गर्न सबैलाई अपिल गरिएको शाखाका कोषाध्यक्ष विमला दुवाडी कंडेलले बताउनुभयो ।