एजेन्सी : दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा पनि नहुने भएको छ ।
दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले अर्जेन्टिनामा बढ्दै गएको कोरोना संक्रमणका कारण त्यहाँ कोपा अमेरिका आयोजना गर्न नसकिने जनाएको छ ।
कन्मेबलले प्रतियोगिताको आयोजनाका बारेमा अन्य राष्ट्रसँग छलफल भएको र चाँडै निर्णय गरिने बताएको छ ।
कोरोनाको दोस्रो लहरका कारण अर्जेन्टिनामा खेलकुदका गतिविधिमा रोक लगाइएको छ ।
सन् २०२० मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण १ वर्ष पछाडि धकेलिएको हो ।
केहि समय अगाडि कोलम्बियामा बढ्दै गएको राजनैतिक अस्थिरताका कारण उसलाई सह आयोजकबाट हटाउँदै अर्जेन्टिनालाई प्रतियोगिताको एकल आयोजनाको जिम्मेवारी दिइएको थियो ।
प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेका थियो । आयोजनास्थल परिवर्तन भएपछि खेल तालिका पनि परिवर्तन हुने सम्भावना बढेको छ ।
प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा अर्जेन्टिना, चिली, उरुग्वे, बोलिभिया र पाराग्वे तथा समूह ‘बी’ मा ब्राजिल, कोलम्बिया, भेनेजुएला, पेरु र इक्वेडर छन् ।