पाेखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयले प्रदेश सभा सदस्य राजीव गुरुङका सहयोगीसँग भेटेको भन्ने समाचार भ्रमपूर्ण रहेको भन्दै खण्डन गरेको छ ।
राजीव गुरुङलाई निवर्तमान मुख्यमन्त्री गुरुङसँग जोडेर एक अनलाइनमा समाचार प्रकाशित भएपछि सचिवालयका तर्फबाट प्रेस संयोजक विक्रम न्यौपानेले बुधबार विज्ञप्ती प्रकाशित गरी उक्त समाचार झुठो भएको बताउनुभयो ।
“प्रदेश सभाका सांसद राजीवसँग मन्त्रिपरिषद्को अन्तिम बैठकभन्दा अघिल्लो दिनपछि आजसम्म न भेटघाट भएको छ, न कुराकानी । र, सांसद राजीव गुरुङसँग त्यति बेला पनि समाचारमा भनिएको जस्तो विषयमा कुराकानी भएको थिएन,” विज्ञप्तीमा भनिएको छ ।
निवर्तमान मुख्यमन्त्री गुरुङ विधि, पद्धति र लोकतान्त्रिक अभ्यासको पुजारीमात्रै नभई त्यसको असली अभ्यासकर्ता पनि रहेको र पटकपटक उहाँका व्यवहारबाट पुष्टि भइसकेको भइसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राजनीतिमा नैतिक सिद्धान्तका आधारमा मात्रै अघि बढ्ने निवर्तमान मुख्यमन्त्रीको छविलाई धुमिल पार्ने दुरासय राखेर फिजाइएका हल्लाको पछि नलाग्न र त्यस्ता झुठा समाचार नपत्याउन अनुरोध गरिएको छ ।
“निवर्तमान मुख्यमन्त्रीलाई लिएर सांसद राजीवबाट पछिल्लो समय आएका अभिव्यक्तिसमेत अशोभनीयमात्रै होइन आपत्तिजनक छन् । उहाँको राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यसहित त्यस्ता अभिव्यक्ति दिएर राजनीतिक र संसदीय मर्यादाको खिल्ली नडाउन पनि विशेष आग्रह छ,” विज्ञप्तीमा भनिएको छ ।