तनहुँ : तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहेन्द्री माध्यमिक विद्यालयले छात्रवृत्ति बुझेको भरपाईमा हस्ताक्षर गराएर विद्यार्थीलाई रकम नदिएको गुनासो आएको छ । विसं २०७७ सालमा छात्रवृत्ति रकम वितरणका लागि विद्यालयले विद्यार्थीलाई भरपाई गराएपनि रकम नदिएको विद्यार्थीले गुनासो गरेका हुन् ।
कक्षा ८ मा अध्ययनरत क्रान्ति आचार्यले हस्ताक्षर गराएपनि रकम भने नदिएको बताउनुभयो । “सरहरुले सही गर्न भनेपछि सही गरेको थिएँ, पैसा पाएको छैन,” उहाँले भन्नुभयो । उहाँका अनुसार अघिल्ला वर्षमा विद्यालयले छात्रवृत्ति बापतको रकम दिएको थियो, तर अहिले सही मात्रै गराएको छ ।
उहाँका अभिभावक राजु आचार्यले सही गराएर विद्यालयले रकम उपलब्ध नगराएको बताउनुभयो । “विद्यालयले छात्रवृत्तिका लागि भरपाई गराएपनि पैसा दिएको छैन भनेर छोरीले भनेकी थिइन्, विद्यालयले पनि अभिभावकसँग सल्लाह गरेको छैन,” उहाँले भन्नुभयो ।
कक्षा १० मा अध्ययनरत ललिता धमेलले पनि हस्ताक्षर गराएर पैसा नपाएको बताउनुभयो । “सबैको नाम टिपेर सही गरेको हो, अघिल्लो वर्ष त पैसा पाइएको थियो, यस पटक विद्यालयले दिएको छैन,” उहाँले भन्नुभयो ।
सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्रा र कक्षा १ देखि १० सम्मका दलित छात्रछात्रालाई व्यास नगरपालिकामार्फत् छात्रवृत्ति रकम वितरण गरिन्छ । गत वर्षको असारमा वितरण गरिनुपर्ने छात्रवृत्ति रकम विद्यालयले अहिलेसम्म वितरण नगरेको विद्यार्थीको भनाई छ । कागजी प्रकृयामा विद्यार्थीले रकम बुझिसकेको प्रमाण व्यास नगरपालिकालाई बुझाइएको थाहा भएको छ ।
विद्यालयका प्रधानाध्यापक प्रकाश काफ्लेले भने भर्ना र पाठ्यपुस्तक शुल्क तिर्न बाँकी रहेका विद्यार्थीले रकम नपाएको गुनासो गरेको हुन सक्ने बताउनुभयो । “विद्यालयबाट टाइ, बेल्ट उपलब्ध गराउँछौ, त्यसको पनि छुट्टै शुल्क लाग्छ, नगदै नपाएकाले विद्यार्थीबाट गुनासो आएको हुन सक्छ,” उहाँले भन्नुभयो ।
२०७६ को विद्यार्थी सङ्ख्या अनुसार २०७७ सालमा छात्रवृत्ति वितरण गरिएको काफ्लेले दावी गर्नुभयो । प्रति विद्यार्थी रु चार सयका दरले छात्रवृत्ति रकम प्राप्त हुन्छ । विद्यालयले कक्षा १ देखि ८ सम्मका छात्रा र कक्षा १ देखि १० सम्मका दलित छात्रछात्रालाई छात्रवृत्ति रकम उपलब्ध गराउँदै उहाँले बताउनुभयो ।
व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव नगेन्द्रप्रसाद रेग्मीले भरपाई गराएर छात्रवृत्ति रकम नदिनु गलत भएको बताउनुभयो । “के भएको रहेछ यसबारेमा पनि जानकारी लिन्छु,” उहाँले भन्नुभयो । उहाँका अनुसार असारभित्रै छात्रवृत्ति रकम वितरण गरिनुपर्ने भएकाले कोरोनाका कारण केही ढिलाई भएको थियो । “पाठ्यपुस्तक, टाइ बेल्ट लगायतका शुल्क तिर्न बाँकी रहेकाहरुलाई जानकारी गराउनुपर्छ, बिना जानकारी छात्रवृत्ति नदिनु गलत हो,” उहाँले भन्नुभयो ।