रामचन्द्रलाई प्रधानमन्त्रीको उम्मेद्वार बन्‍न प्रस्ताव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामचन्द्रलाई प्रधानमन्त्रीको उम्मेद्वार बन्‍न प्रस्ताव

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७८, सोमबार

    काठमाडौँ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दाबेदार नेता डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्‍न प्रस्ताव गर्नुभएकाे छ । साेमबार नेता पौडेल निवास बोहोराटारमा भएको दुई नेताबीचको ‘वानु टु वान’ छलफलमा नेता डा. कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न र लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधानमन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गर्नुभएकाे हेा ।

    विहान करिब डेढ घण्टा भएको छलफलमा सुरुमै नेता पौडेलले डा. कोइरालालाई सभापतिमा सघाउन भन्नुभएकाे थियाे । बोहोराटार निकट स्रोतका अनुसार पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताउनुभयाे ।

    ‘मलाई एक पटक सभापति बन्ने ठूलो इच्छा छ । अहिले मलाई छोडिदिनुस्, एक वर्षपछि म तपाईलाई नै सहयोग गर्छु । अहिलेसम्मको राजनीतिक अनुभवलाई पार्टी नेतृत्वका रूपमा एक वर्षमै कार्यान्वयन गर्ने मेरो इच्छा पूरा गर्न सहयोग गर्नुस्,’ पौडेलको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो । 

    पौडेलको त्यो प्रस्ताव पछि नेता डा. कोइरालाले लामो राजनीतिक अनुभव प्रधानमन्त्रीका रूपमा कार्यान्वयन गर्न सहज हुने भन्दै आफूलाई सभापतिमा समर्थन गर्न र प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गर्नुभयाे । उहाँले आफूलाई सभापतिमा सहयोग गरेर २०५६ सालको निर्वाचनमा कृष्णप्रसाद भट्टराईलाई जस्तै पहिल्यै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेर अघि बढ्नेसमेत बताएका स्रोत बताउँछ । 

    ‘तपाईप्रति पार्टीमा सबैको सम्मान छ । आम नागरिकले पनि तपाइँलाई सम्मान गर्छन् । लामो राजनीतिक अनुभव छ । सभामुख, पटक-पटक मन्त्री, उपप्रधानमन्त्री भएको अनुभव प्रधानमन्त्री भएर कार्यान्वयन गर्नुपर्छ । तपाइँ प्रधानमन्त्रीको उम्मेदवार बन्‍नुस् । मलाई सभापतिमा सहयोग गर्नुस्,’ डा. कोइरालाको भनाइ थियो ।  (इकागज डटकमबाट)