दमाैली : जिल्ला प्रशासन कार्यालय तनहुँले असार १६ गतेदेखि १९ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तनहुँ जिल्लामा पनि भारी वर्षाको सम्भावना हुने जानकारी गराएको भन्दै सचेत रहन आग्रह गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा जारी सूचनामा भारी वर्षाका कारण बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी र खोलाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन गर्ने लगायतका कार्य नगर्न अनुरोध गरिएको छ । साथै सेती, मादी, मस्र्याङ्दी, त्रिशुली, कालीगण्डकी लगायत नदी र अन्य खोलाको छेउछाउ नजान अनुरोध गरिएको हो ।
कुनै विपद्को घटना भएमा तत्काल जिल्ला आपतकालिन सञ्चालन केन्द्रको नम्बर ०६५५६११६१, प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५६०६७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५६००११११ र प्रहरी उपरिक्षकको नम्बर ९८५६०६५५५५ मा सम्पर्क गरी जानकारी गराउन प्रशासनले अपिल गरेको छ ।