तनहुँमा फेरि लम्बियो निषेधाज्ञा, सार्वजनिक यातायात नचल्ने, निजी सवारी जोर विजोरबाट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा फेरि लम्बियो निषेधाज्ञा, सार्वजनिक यातायात नचल्ने, निजी सवारी जोर विजोरबाट

    खबरपुञ्ज संवाददाता

    १४ असार २०७८, मंगलवार

    दमाैली : तनहुँमा पुनः निषेधाज्ञा लम्बिएको छ । असार १६ गते राति १२ बजेसम्म जारी रहेको निषेधाज्ञा लम्ब्याउँदै असार २४ गते राति १२ बजेसम्म थप गरिएको हो ।

    जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कमी नभएको र जाँच गरेका समुदायमा व्यापक फैलिरहेको निष्कर्ष निकालदै निषेधाज्ञा आदेशलाई निरन्तरता दिएको हो । बैठकमा यसअघि थप गरिएको निषेधाज्ञा र यसको कार्यान्वयनको अवस्थाका विषयमा समेत छलफल गरिएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बिहान ५ बजेदेखि १० बजेसम्म खुल्ला गर्ने निर्णय भएको छ । साथै अन्य खोल्न अनुमति दिइएका सेवा तथा व्यवसाय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने भएको छ । यसअघि अन्य व्यवसाय बिहान ८ बजेदेखि ११ बजेसम्म मात्र खुल्ला गर्न अनुमति थियो ।

    सार्वजनिक सवारी नचल्ने, निजी जोर विजोरबाट

    निषेधाज्ञा अवधिमा सार्वजनिक यातायातका साधन भने नचल्ने भएको छ । देशका अन्य जिल्लामा सार्वजनिक यातायातका साधन जोरविजोरबाट चल्न अनुमति दिइएपनि तनहुँमा पनि रोक लगाइएको छ।

    निजी सवारी साधनहरु भने मिति अनुसार जोर गते जोर र विजोर गते विजोर सञ्चालन गर्ने निर्णय भएको छ ।

    असार २० गतेबाट कार्यालय खुल्ने

    यसैगरी निषेधाज्ञा अवधिभर सेवा बन्द गरेका सरकारी कार्यालयले असार २० गतेदेखि सेवा सुचारु गर्ने भएका छन् । सरकारी कार्यालय, संस्थान, समिति, बैङ्क, बीमा, सहकारी र अन्य सङ्गठित संस्थाहरुले तयार गरेको सेवा प्रवाहको कार्ययोजना अनुसार स्वास्थ्य तथा सुरक्षाको पर्याप्त प्रबन्ध गरी सेवा प्रवाह सुचारु गर्न निर्देशन दिइएको छ ।