म्याग्देमा राेपिसकेकाे धान खाेलाले डुबाएपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    म्याग्देमा राेपिसकेकाे धान खाेलाले डुबाएपछि…

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    म्याग्दे : मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको म्याग्देमा खोलाले धानखेत डुबाउँदा कृषक चिन्तित भएका छन् । म्याग्देखोलामा आएको बाढीले धानखेत डुबाउँदा यहाँका कृषक चिन्तित भएका हुन् ।

    असारको दोस्रो साता आठ रोपनीमा रोपेको धान खोलाले डुबाएको म्याग्दे गाँउपालिका–६ का दीर्घबहादुर भण्डारीले बताउनुभयो । वर्षभरिको गुजारा चलाउने धानखेत डुबानमा परेको उहाँले जानकारी दिनुभयो ।

    धान रोपेको चार दिनमै खेत बगरमा परिणत भएको छ । उहाँले भन्नुभयो, “यसपालिको बाढीले रोपेको धान पूरै सखाप भयो । फेरि रोपाइँ गर्नका लागि न बीउ छ, न त खेत नै ।” खेत रोप्दा बीउ र ज्याला गरी रु २० हजारभन्दा बढी खर्च भएको उहाँले बताउनुभयो ।

    उत्पादन हुने धान बेचेर गुजारा टार्दै आउनुभएका भण्डारीले यस वर्ष आफैलाई पनि जीविकोपार्जन गर्न समस्या हुने गुनासो गर्नुभयो । खोलाको धार खेततर्फ सोझिएपछि भण्डारीलाई जमिन पुरानै अवस्थामा कसरी फर्काउने भन्ने चिन्ता पनि थपिएको छ । मङ्गलबार राति आएको बाढीले खेत बगर बनाएपछि यहाँका एक सय बिघा भन्दा बढी खेत डुबानमा परेको छ ।

    अर्का कृषक शिव भण्डारीले खेत डुबानमा परेर खेतमाथि खोला बगिरहेको बताउनुभयो । “खेत डुबानमा परेर खेतमा खोला बगिरहेको छ, केही खेतमा भेल पसेर बालुवा र गेग्रान थुप्रिएको छ,” उहाँले भन्नुभयो । खोलाले कटान गरेको खेत बिराएर धान रोप्ने अवस्था यो वर्ष नरहेको उहाँको गुनासो छ । “अब धानको बिउ पनि पाइँदैन, पाइहाले पनि छिप्पिसकेको बीउ रोप्न मिल्दैन,” उहाँले भन्नुभयो ।

    उहाँका अनुसार रोपाइँमा करिब रु दश हजार खर्च भएको थियो । रोपेको एक साता नबित्दै उहाँको खेत बगर बनेको छ । “ट्याक्टरलाई मात्र सात हजार दिएको छु, रोपार, आली लगाउने खेताला खोज्दा खर्च भयो । आफ्नो दुःखको त कुरै छाडौं,” उहाँले भन्नुभयो, “लगानी खेर गयो ।”
    तटबन्ध तथा बाढी रोकथामको अभावमा वर्षेनी बाढीले दुःख दिने गरेको किसानको गुनासो छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्रले दीर्घकालीन रुपमा बाढी रोकथामका लागि तटबन्धको व्यवस्था गर्न पहल गर्नुपर्ने किसानको माग छ ।

    कृषि ज्ञान केन्द्र तनहँुका अनुसार म्याग्दे, व्यास लगायत अन्य केही पालिकामा धान खेतमा क्षति पुगेको छ । मुचुल्कासहित क्षति विवरण सङ्कलन गर्न थालिएको कृषि ज्ञान केन्द्र तनहँुका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । “वडागत रुपमा क्षति सङ्कलन गर्ने र सङ्कलित विवरण गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पेस गछौं ।” तनहुँमा बुधबारसम्म ५० प्रतिशत भूभागमा रोपाइँ सकिएको छ ।