बाढीपहिरो : तनहुँमा कहाँ कति क्षति ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    बाढीपहिरो : तनहुँमा कहाँ कति क्षति ?

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७८, बिहीबार

    तनहुँ : बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँमा ठूलो क्षति पु¥याएको छ । तनहुँका विभिन्न भागमा बाढीपहिरोले घर भत्किनुका साथै कयौ परिवार विस्थापित भएका छन् ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार पहिराले पुरिएर बिहीबार ऋषिङ गाउँपालिका–७ दधिवनमा ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ ।

    पहिराले पुरिएर ऋषिङ गाउँपालिका–८ माझकोटका ४१ वर्षीय खुमबहादुर थापा बेपत्ता छन् । गोठमा भल तर्काउने क्रममा माथिबाट पहिरा आउँदा सोही पहिरामा पुरिएर उनी बेपत्ता भएका थिए ।

    म्याग्दे गाउँपालिका–४ मा म्याग्दे खोलाले बगाउँदा ४५ वर्षीय मैतबहादुर नेपाली बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको छ ।

    ऋषिङ गाउँपालिका–७ मा पहलसिं थापा, टेकबहादुर मगर र भूपाल मगरको घर पहिराले पूर्ण क्षति बनाएको छ । सोही वडाकै भिमबहादुर थापा, धनविर थापा र तेजबहादुर थापाको घर आंशिक रुपमा क्षति भएको छ ।

    यसैगरी बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन् । एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन् । बन्दीपुर गाउँपालिका वडा नं २ खहरे, धारापानी, वडा नं ३ रामकोट, वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन् ।

    बाढीले खहरेमा १३ घर पूर्ण क्षति र ९ घर आंशिक क्षति भएको र २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा ७ घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेको छ ।

    विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन् । “घरभित्र पानी पसेर कतिपय सामग्री पनि क्षति पुग्यो, बचेका सामग्री सहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौ,” गुरुङले भन्नुभयो ।

    सतर्क रहन प्रशासनले अपिल

    जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारसम्म भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले प्रकाशन गरेको मौसम बुलेटिन अनुसार भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, डुबान हुन सक्ने हुँदा उक्त घटनाबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    प्रशासनले बाढीपहिरो र डुबान हुने क्षेत्रमा नजान, नदी खोलाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा सङ्कलन लगायतका कुनै पनि कार्य नगर्न र सेतीमादी, त्रिशुली, मस्र्याङ्दी नदी लगायत खोलाको छेउछाउ नजान आग्रह गरेकाे छ ।